काठमाडौं: रोजगारीका लागि इजरायल जान इच्छुकहरुमध्ये भाषा र अन्तरवार्ता परीक्षामा पास भएका एक हजार ६०० जनाको नाम सरकारले सार्वजनिक गरेको छ ।
वैदेशिक रोजगार विभागले भाषा परीक्षा पास भएर अन्तरवार्तामा सहभागीहरुमध्ये एक हजार ६ सय जनाको नाम आइतबार बिहान सार्वजनिक गरेको हो ।
इजरायलले नेपाली कामदार लैजाने कोटा भने एक हजार ४ सय छ । १६ सयमध्येबाट अब इजरायलको पपुलेसन एन्ड इमिग्रेसन अथोरिटी (पीआइबीए)ले कामदार छनोट गर्नेछ ।
छनोटमा परेका व्यक्तिहरू र रोजगारदाताबीच रोजगार सम्झौता भएपछि उनीहरु इजरायल जान पाउनेछन् । इजरायलको रोजगारीका लागि लिइएको भाषा परीक्षामा ६ हजार ३१७ जना सहभागी भएका थिए ।
