काठमाडौं: नेपाली कांग्रेसको गाउँनगर अधिवेशन अन्तर्गत चितवनमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष शक्तिशाली देखिएका छन् । अहिलेसम्म अधिवेशन सम्पन्न भएका पाँच पालिकामध्ये तीन पालिकामा पौडेल पक्षका उम्मेद्वार विजयी भएका हुन् ।
माडी नगरपालिकामा पौडेल पक्षका कोमलनाथ भुसाल, कालिका नगरपालिकामा दीपेश्वर केसी र इच्छाकामना गाउँपालिकामा कृतिकुमार श्रेष्ठ नगर सभापतिमा निर्वाचित भएका छन्। भने खैरहनी नगरपालिकामा गुणराज श्रेष्ठ र राप्ती नगरपालिकामा शेरबहादुर देउवा पक्षका देवेन्द्र लामा नगर सभापतिमा निर्वाचित भएका छन्।
यसैगरी, चितवनको भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकामा आज अधिवेशन हुँदैछ। भरतपुर महानगरपालिकामा देउवा पक्षबाट दुई र पौडेल पक्षबाट तीन जनाले सभापतिमा उम्मेद्वारी दिएका छन्।
देउवा पक्षबाट वचन कार्की र हिरामणि अधिकारी तथा पौडेल पक्षबाट चित्रसेन अधिकारी, भरत अधिकारी र अर्जुन रिजालले उम्मेद्वारी दिएका छन्।
रत्ननगर नगरपालिकामा देउवा पक्षबाट पक्षप्रह्लाद सापकोटा र पौडेल पक्षबाट रुपनराज घिमिरे सभापतिमा भिड्दैछन्।