एमालेले निरन्तर अवरोध गरेपछि संसद्‌ अधिवेशन अन्त्य गर्ने सरकारको तयारी

10.2k Shares
सम्बन्धित पार्टी

काठमाडौं: सरकारले संसद् अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ। प्रमुख प्रतिपक्षी दल एमालेले अवरोध जारी राखेपछि अधिवेशन अन्त्य गर्ने तयारी भएको हो । सभामुख सापकोटाले संसद्‌मा अवरोध हटाउन सर्वदलीय बैठक आह्वान गरे पनि एमालेले सभामुखले अध्यक्षता गरेको बैठक बहिष्कार गर्दै आएको छ।

सरकार आफैँले अग्रसरता नलिएबाट सरकार संसद्‌मा थप बिज्नसू अघि बढाउने तयारीमा नरहेको प्रतिपक्ष नेताहरूको अनुमान छ।

मलाई लाग्छ उहाँहरूले यो अधिवेशन अबको केही दिनभित्रै अन्त्य गर्दै हुनुहुन्छ, एमाले नेता कृष्णभक्त पोखरेलले भने। 

नेपाली कांग्रेस अधिवेशनको तयारी, नजिकिँदो चाडपर्व र एमालेको अवरोधका कारण सरकार अवरोध हटाउन नलागी जारी संसद् अधिवेशन नै अन्त्य गर्ने तयारीमा जुटेको सत्ताधारी दलकै नेताहरू बताउँछन्।

सरकारले पनि प्रतिपक्षसँग छलफलका लागि गम्भीरता नदेखाएको देखिन्छ। तर अधिवेशन अन्त्यबारे औपचारिक छलफल चाहिँ भएको छैन, कांग्रेस सचेतक पुष्पा भुसालले भनिन्।

प्रत्येक वर्ष दशैँ, तिहार, छठ र नेपाल संवत्‌जस्ता चाडपर्वको बेलामा संसद् अधिवेशन अन्त्य हुने गरेकाले यो वर्ष पनि बजेटमा आश्रित विधेयक पारित भएपछि अधिवेशन अन्त्य हुने दलहरूको बुझाइ रहेको छ।

अधिवेशन अन्त्य भए एमालेले उठाएको मुद्दा पनि ओझेल पर्दै जाने र अर्को अधिवेशनसम्म अदालतबाट समेत टुङ्गो लागिसक्ने सरकारको विश्वास देखिन्छ। -बीबीसीबाट

ताजा अपडेट
सम्बन्धित समाचार