काठमाडौँ: एमाले विभाजन हुनुअघि अध्यक्ष केपी शर्मा ओलीलाई साथ नदिएका तर विभाजनपछि एमालेमै रहेका मध्यामार्गी नेताहरु अहिले झन् हेपिएको महशुस गर्न थालेका छन् ।
पछिल्लो पार्टीमा अध्यक्ष ओलीको प्रभाव रोचक ढंगले बढ्दै गइरहेको छ । ओलीको योजना अनुसार विधानमा उमेरहद, प्रतिनिधि चयन, पदाधिकारीलगायत केन्द्रीय सदस्यको संख्या र चयन प्रक्रियाबारे टुंगो लगाउने तयारी भइरहेको छ । यसबाट ओली नै झन् शक्तिशाली हुने देखिएको छ ।
नेकपा एमालेको दसौँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीका लागि पुनः नेतृत्वमा दोहोरिन सहज हुने देखिएको छ ।
पार्टीमा नेतृत्वका लागि ओलीको बलियो प्रतिस्पर्धी नभएको अवस्था र विधान संशोधनलगायत विषयले उनलाई अध्यक्षमा दोहोरिन सहज हुने भएको हो। नेतृत्वका लागि आकांक्षी देखिएका महासचिव ईश्वर पोखरेल र सुवास नेम्वाङका लागि भने अवस्था असहज हुने देखिएको छ ।
त्यस्तै विधानको विषय मात्र नभएर यतिबेला अन्य कारणहरुबाट पनि एमालेका मध्यमार्गी नेताहरु सन्तुष्ट छैनन् । एमालेका उपाध्यक्ष भीम रावलले ओलीले १० बुंदे सहमतिमा असमानता देखाएको भन्दै असन्तुष्ट व्यक्त गरिसकेका छन् । उनले आफू अहिले नबोल्ने तर समय आएपछि सबै गर्ने भन्दै चुपचाप बसेका छन् ।
पछिल्लो समय तेस्रो धार मानिने नेताहरुले देखाएको असन्तुष्टिलाई ओलीले समाधान गर्न नसके एमाले फेरी फुट्नसक्ने नेताहरुले बताउँदै आएका छन् । ओलीले उनीहरुको सहज ढंगबाट व्यवस्थापन गर्न नसके एमालेमा दुर्घटना हुने पक्का छ ।
एमाले विभाजनपछि पनि तेस्रो धार मानिने नेताहरुबाट ओली सन्तुष्ट छैनन् । ओली र मध्यमार्गी नेताहरुको यो चर्को अस्नातुष्टिका बीच अगाडी बढेको एमाले कतिबेला दुर्घटना हुने हो पत्तो छैन ।