मन्त्रिपरिषद्लाई पूर्णता दिन जुटे दलहरु आन्तरिक छलफलमा, मन्त्रीको नाम टुङ्गो लगाउने जिम्मेवारी प्रचण्डलाई 

7.9k Shares

काठमाण्डौ: मन्त्रिपरिषद्लाई पूर्णता दिन सत्ता गठबन्धनका दलहरु यतिबेला आन्तरिक छलफलमा जुटेका छन् । सरकारमा पठाउने मन्त्रीको नाम टुङ्गो लगाउन नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी छलफलमा जुटेका हुन् ।

यी दुई पार्टीले आजै मन्त्रीको नाम टुङ्ग्याउने तयारी गरेका छन् । एकीकृत समाजवादी र जसपाबीच भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय कसले लिने भन्ने रस्साकस्सी चलेको छ ।

भौतिक पूर्वाधार जसपालाई दिएर एकीकृत समाजवादीलाई सहरी विकास मन्त्रालय दिनेबारे छलफल भइरहेको छ । माओवादी केन्द्रले मन्त्रीको नाम टुङ्गो लगाउने जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ ।

आज मन्त्रालय टुङ्गो लागेमा भोलि र नलागेमा पर्सिसम्म मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको तयारी छ । मन्त्रालय भागबन्डाका विषयमा मोटामोटी समझदारी भइसकेकाले मन्त्रिपरिषद् विस्तारमा अब ढिलाइ नहुने सत्ता गठबन्धनमा आबद्ध नेताहरुले बताएका छन् ।

दल विभाजन सम्बन्धी अध्यादेश खारेज भएसँगै मन्त्रिपरिषद्लाई पूर्णता दिन सहज भएको छ । यसअघि अध्यादेश  खारेज गर्न नहुने नेकपा एकीकृत समाजवादीको आग्रह र खारेज गर्नु पर्ने  जनता समाजवादी पार्टी जसपाको अडानका कारण मन्त्रिपरिषद् विस्तारमा समस्या भइरहेको थियो ।

ताजा अपडेट
सम्बन्धित समाचार