काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र ओली बिच भएको भेट मार्फत् प्रधानमन्त्री शेरबहादुर देउवालाई सन्देश पठाएका छन्। सरकारले राजनीतिक दल सम्बन्धि अध्यादेश ल्याएर फिर्ता लिनु षड्यन्त्रपूर्वक भएको भन्दै ओलीले मन्त्री कार्कीमार्फत् असन्तुष्टि व्यक्त गरेका हुन्।
सरकारले पार्टी फुटाउने प्रयोजनका लागि गत भदौ २ गते जारी गरेको अध्यादेश हिजो असोज ११ गतेफिर्ता गरेको सूचना जारी गरायो। जुन बिल्कुलै असंवैधानिक, षड्यन्त्रपूर्ण र बदनीयतपूर्ण रहेको पुष्टि भएको छ, ओलीले पठाएको सन्देशमा उल्लेख छ।
चलिरहेको संसद् मध्यरातमा हठात् बन्द गरेर बिहानै अध्यादेश ल्याउनु संविधान विपरीत भएको ओलीको तर्क रहेको छ। देउवाले संसदको मान मर्दन गरेको ओलीले पठाएको सन्देशमा उल्लेख गरिएको छ।
हाल संसद् अधिवेशन चालु रहेकै बेला संसदमा प्रस्तुत विधेयकको वास्ता नगरी, संसद्को मानमर्दन गर्दै जारी गरिएको अध्यादेश खारेजीको सूचना असंवैधानिक, गैरकानुनी र दुःषित मनसायबाट अभिप्रेरित, दलीयव्यवस्था र प्रमुखप्रतिपक्षी दल विरुद्ध लक्षित छ भन्ने कुरा प्रष्ट छ, ओलीलाई उदृत गर्दै उनको सचिवालयले जारी गरेको प्रेस नोटमा भनिएका छन्।
ओलीले कार्कीसँगको भेटमा अध्यादेश ल्याउने र फिर्ता गर्ने सरकारको निर्णयप्रति गम्भीर आपत्ति भएको सन्देश पठाएका हुन्। संसदको प्रमुख प्रतिपक्षी दल एमालेले संसद बैठक लगातार अवरुद्ध गर्दै आएको छ। सभामुख अग्निप्रसाद सापकोटाले एमाले फुटाउन भूमिका खेलेको भन्दै ओली आक्रोशित छन्। देउवलाई दुत पठाएर सम्बन्ध सुधारको कोसिस गरिरहेको भए पनि ओलीले उल्टै देउवाले षड्यन्त्र गरेको आरोप लगाएका छन्।