जनकपरधाम: प्रदेश २ मा प्रदेशसभाको अधिवेशन असोज २० को लागि आह्वान गरिएको छ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकमा प्रदेशसभाको अधिवेशन असोज २० को लागि आह्वान गरिएको अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए।
साहकाअनुसार मन्त्रिपरिषद्को बैठकबाट यही असोज २० गते मुख्यमन्त्री राउतले विश्वासको मत लिने छन्।
सत्तारुढ जनता समाजवादी पार्टी नेपाल विभाजित भएको ३० दिनभन्दा बढी भएको छ। संविधानको धारा १८८ को उपधारा २ मा मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मतका लागि प्रदेशसभा समक्ष प्रस्ताव राख्नुपर्ने प्रावधान छ।
२०७४ मा तत्कालीन राजपा नेपाल र समाजवादी पार्टी नेपालबीच गठबन्धनमा राउत नेतृत्वमा सरकार बनेको थियो। पछि यी दुवै दल एकीकरण भएर जनता समाजवादी पार्टी नेपाल बनेको थियो।
अहिले जसपा विभाजित भएर लोकतान्त्रिक समाजवादी पार्टी नेपाल गठन भएको छ। ९ भदौमा निर्वाचन आयोगले लोसपालाई वैधानिकता प्रदान गरेको थियो।
प्रदेशसभामा १०७ सदस्यीय मध्ये अहिले १०४ प्रदेश सांसद छन्। जसपाका ३९, कांग्रेस १९, लोसपाका १६, नेकपा एकीकृत समाजवादीका १३, नेकपा ९एमाले०का ८, नेकपा माओवादी केन्द्रका ८ र नेपाल संघीय समाजवादी पार्टीका एक जना सांसद छन्।
लोसपा र नेकपा एमालेबाहेक सबै दल मुख्यमन्त्री राउतको पक्षमा छन्। अहिले प्रदेश २ मा जसपा, कांग्रेस र माओवादीको संयुक्त सरकार छ। सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादी सरकारमा जाने तयारीमा रहेको छ।