काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक एमालेले बहिष्कार गर्ने भएको छ । नेकपा एकीकृत समाजवादी पार्टीलाई समेत बोलाइएको भन्दै एमाले बैठकमा सहभागी नहुने एक शीर्ष नेताले जानकारी दिए ।
प्रधानमन्त्री देउवाले सङ्घीय संसद्को गतिरोध अन्त्यका लागि अहिले बिहान १० बजे सर्वदलीय बैठक बोलाएका छन् । तर एमाले सर्वदलीय बैठकमा नजाने एक नेताले जानकारी दिए ।
प्रधानमन्त्रीलाई आफूहरु बैठकमा सहभागी नहुने जानकारी गराइसकेको पनि ती नेताले बताए । प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा नेकपा एकीकृत समाजवादीलाई पनि निम्तो छ । त्यो पार्टीलाई जालझेल र असंवैधानिक तवरले विभाजन गरियो भनेर एमाले सर्वोच्च अदालतमा गएको छ । संसद्मा पनि १४ जनालाई प्रवेशमा रोक लगाउ भन्दै नारा लगाएकाले प्रावधिक रूपमा पनि एमाले प्रधानमन्त्रीले बोलाएको बैठकमा जान मिल्दैन, ती नेताले भने ।
नेकपा एमालेका १४ जना सांसदहरुलाई पदबाट बर्खास्त गर्नुपर्ने माग गर्दै एमालेले गत २३ भदौबाट संघीय संसद्का बैठकहरुमा निरन्तर अवरोध पुर्याउँदै आएको छ । तर, माधवकुमार नेपालसहित ती सांसदहरुले नेकपा एकीकृत समाजवादी पार्टी नै खोलिसकेका छन् । १४ जना सांसदमाथि कारबाही हुनुपर्ने मागसहित एमालेले सर्वोच्च अदालतमा समेत मुद्दा हालेको छ ।
एमालेले कारबाही गरेका १४ जना सांसदको सुचना सभामुखले टाँस नगरेको भन्दै संसद निरन्तर अवरोध गर्दै आएको छ । यसअघि सभामुखले बोलाएको सर्वदलीय बैठकपनि एमालेले बहिष्कार गरेको थियो ।