काठमाडौं: संसदको गतिरोध अन्त्यको प्रयास स्वरुप प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको बैठक ठोस निर्णय बिना सकिएको छ ।
संसदमा अवरोध गर्दै आएको नेकपा एमालेले बहिष्कार गरेको बैठकमा समसामयिक राजनीतिक घटनाबारे छलफल भए पनि ठोस निर्णय भने हुनसकेन हो ।
एमालेले नेकपा (एकीकृत समाजवादी) लाई दल स्वीकार नगर्ने र उ सहभागी हुने बैठकमा नजाने भन्दै बहिष्कार गरेको थियो ।
संसदमा लगातार अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल एमाले नै नआएपछि समस्या समाधानबारे खास छलफल हुन सकेन ।
प्रधानमन्त्री देउवाले समस्या समाधानका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्ने तयारी गरेका छन् । छलफलमा सहभागी अरु दलका नेताहरुले पनि सोही अनुसारको सुझाव दिएको जनाइएको छ ।
संसद अवरुद्ध हुँदा जनताको काममा प्रत्यक्ष प्रभाव परेकाले एमालेलाई परिवेशको आँकलन गरि सहकार्य गर्न आग्रह गर्ने निर्णय भएको बैठकपछि कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।