काठमाडौं: प्रदेश २ का प्रतिपक्षी दलहरूले अख्तियारले आफ्नो कार्यालयमा छापा मारेपछि मुख्यमन्त्री लालबाबु राउतले नैतिकताका आधारमा राजीनामा दिनु पर्ने बताएका छन् । उनीहरूले अख्तियारको छानबिनमा सहयोग गर्न मुख्यमन्त्री राउतले राजनीमा दिनुपर्ने माग राखेका हुन् ।
विपक्षी दलहरुले अख्तियारले प्रदेश सरकारको ‘बेटी बचाउ बेटी पढाउ’ अभियान अन्तर्गत खरिद गरिएको साइकलमा व्यापक अनियमितता भएको भन्दै मुख्यमन्त्रीको कार्यालयमै छापा मारेपछि पदमा रहिरहन नमिल्ने भन्दै राजीनामा माग गरेका हुन् ।
राउतले भने अख्तियारको छापाप्रति कडा आलोचना गरेका छन्। बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनियमितता गरेको आरोपमा छापा मारेपछि उनले आपत्ति जनाएका हुन् ।
उक्त प्रदेशमा सञ्चालित मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउू कार्यक्रम अन्तर्गत विद्यालयमा अध्ययनरत छात्राहरूलाई वितरण गर्न भनेर किनिएको साइकलको खरिदमा अनियमितताको शङ्का गर्दै अख्तियारले छापा मारेको थियो ।
अख्तियारका अधिकारीहरूले मुख्यमन्त्री कार्यालयबाट उक्त योजना सम्बन्धी कागजातहरू आफ्नो नियन्त्रणमा लिएका छन्।
उनले त्यसलाई प्रदेश सरकारलाई बदनाम गर्ने षड्यन्त्रू को आरोप समेत लगाएका छन् ।
अख्तियारको टोली फर्केलगतै मुख्यमन्त्री राउतले पत्रकार सम्मेलन गरेर अख्तियारको कारबाही प्रदेश सरकारलाई बदनाम गर्ने उद्देश्यले प्रेरित रहेको बताए ।