काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्णबैठक (फुलकोर्ट) बोलाएका छन् ।
सर्वोच्च बार एसोशिएसनले प्रधानन्यायाधीशलाई भेटेरै र नेपाल बार एसोशिएसनले विज्ञप्तिमार्फत प्रधानन्यायाधीशले कार्यपालिकामा भाग खोजेको विषयमा गम्भीर चासो देखाएपछि फुलकोर्ट बस्न लागेको हो ।
प्रधानन्यायाधीश जबराले मन्त्रिपरिषदमा कोटा खोजेको समाचार आइरहेको अवस्थामा न्यायाधीशहरुको पूर्ण बैठक बस्न लागेको हो ।
दसैँ बिदाको अवधिमा मुद्दा सुनवाइ गर्ने न्यायाधीशहरुको नाम तय गर्ने लगायतका एजेन्डामाथि छलफल हुने अदालतका प्रवक्ता दाहालले जानकारी दिए ।
सर्वोच्च अदालतमा घटस्थापनादेखि दसैँ बिदा हुन्छ तर, बन्दी प्रत्यक्षीकरण लगायतका अत्यावश्यक मुद्दाको सुनुवाइ भने रोकिँदैन । यसका लागि निश्चित न्यायाधीशलाई जिम्मा दिने अभ्यास छ ।