काठमाडौं: नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आफूपक्षीय नेताहरूको बैठक बोलाएका छन्।
मन्त्रिपरिषद्मा सहभागी हुने आफ्नो पक्षका मन्त्रीबारे छलफल गर्न बैठक डाकिएको छ। दिउँसो १ बजे जमलमा बस्नेगरी बैठक लागि बोलाइएको बैठकमा आसन्न महाधिवेशनका सन्दर्भमा पनि छलफल हुनेछ।
सिटौलाले आफूनिकट केन्द्रीय सदस्यहरुलाई बैठकमा बोलाएका छन्। नेताहरू भीमसेन दास प्रधान, उमाकान्त चौधरी, प्रदीप पौडेल, शिव हुमागाईं लगायतलाई बोलाइएको छ।
सिटौला पक्षबाट चौधरी मन्त्री बन्ने करिब सहमति बनेको छ। सिटौला समूहको भागमा एक मन्त्री हुने बताइएको छ। सिटौला पक्षको बैठक जमलमा बस्ने भएको छ।
त्यस्तै बरिष्ठ नेता रामचन्द्र पौडेलले पनि बैठक बोलाएका छन् । आफ्नो पक्षबाट मन्त्री छान्नका लागि बुधबार दिउँसो २ बजे वरिष्ठ नेता पौडेलको निवास बोहोराटारमा बैठक बस्न लागेको हो।
कांग्रेसको भागमा स्वास्थ्य तथा जनसंख्या, सञ्चार तथा सूचना प्रविधि, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण मन्त्रालय परेको छ।
पौडेल पक्षले आफूहरुको भागमा परेको दुई मन्त्रालयका लागि मन्त्री छान्नु पर्नेछ।
पौडेल पक्षबाट मिनेन्द्र रिजाल, सुजाता कोइराला, दिलेन्द्र बडु, तेजुलाल चौधरीको सम्भावना रहेको छ।