काठमाडौं: जनता समाजवादी पार्टी (जसपा)ले मन्त्री छान्ने जिम्मा अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुराम र वरिष्ठ नेता अशोक राईलाई दिएको छ।
जसपाको आज बसेको कार्यकारिणी समिति बैठकले पार्टीको कोटाबाट सरकारमा पठाउने मन्त्रीहरुको नाम छान्न तीन नेतालाई जिम्मा दिएको कार्यकारिणी सदस्य प्रकाश अधिकारीले बताए।
शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने मन्त्री छान्ने जिम्मा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईले पाएका छन् ।
जसपाले भौतिक पूर्वाधारसहित चार मन्त्रालय पाउने टुंगो लागेको छ । प्रधानमन्त्री देउवाले केही दिनमा नै मन्त्रिपरिषद विस्तार गर्ने संकेत देखाएका छन् । सत्ता गठबन्धनका नेताहरुबीच मन्त्रालय भागबण्डाको सहमति भएसंगै देउवाले मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन् ।