काठमाडौं : विवादमा मुछिएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले राजीनामा दिएका छन्। हमालले आइतबार बिहान बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएका हुन्।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट कांग्रेसको नाममा मन्त्री बनेको भन्दै चौतर्फि आलोचना भएपछि उनले राजीनामा दिएका हुन्।
विभिन्न संचार माध्यममा आएका समाचार र कानुनविद्हरुले प्रश्न उठाएपछि पदबाट राजीनामा गरेको हमालले बताएका छन् । ‘सम्माननीय प्रधानमन्त्रीज्यू म लामो समयदेखि कांग्रेसको विभिन्न पदहरुमा सक्रिय रही बाँके जिल्लाको पार्टी सभापति समेत भएर काम गरेकाले पार्टीले सोही अनुसार मुल्यांकन गरेर मन्त्री पदमा नियुक्ति गरेको मैले ठानेको छु’, हमालले राजीनामा पत्रमा भनेका छन्, ‘हाल विभिन्न संचारमाध्यमहरुले सम्प्रेषित समाचार तथा कानुनविद्हरुले मेरो नियुक्तिलाई अन्यायपूर्वक अन्यत्र जोडी समाचार सम्प्रेषित गरेको र यस्ता समाचारले आफ्नो वर्षौंसम्म लोकतन्त्र, विधिको शासन तथा राज्यका निकायहरूबीच शक्ति पृथकीकरणको सिद्धान्तको लागि लडेको लडाइँको समेत अवमूल्यन भएको बोध भएको छ । तर पनि मेरो नियुक्तिको विषयलाई लिएर प्रश्न उठेबाट म पदभन्दा व्यवस्थाका लागि लडेको व्यक्ति भएकाले यस्तो आशंकाकैबीच मन्त्रीपदमा बसिरहन उपयुक्त नलागेकाले मन्त्री पदबाट राजीनामा दिएको छु ।’
राजनीतिक योगदान भएरपनि प्रधानन्यायाधीशसँग जोडेर विवाद झिकिएपछि राजीनामा दिन बाध्य भएको हमालको गुनासो छ।
कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीमा संसद् नै नभएका गजेन्द्र हमाल नियुक्त गरेका थिए। गैह्र सांसद हमाललाई मन्त्री बनाएपछि कांग्रेसभित्रै असन्तुष्ट बढेको छ।