हास्यकलाकार मनोज गजुरेलले गरे  विवाह

8.9k Shares

काठमाडौं : हास्यकलाकार मनोज गजुरेल विवाह बन्धनमा बाँधिएका छन् । चार वर्षअघि सम्बन्ध विच्छेद गरेका उनले नेपाल सरकारको न्याय सेवाकी अधिकृत मञ्जु पोखरेलसँग सोमबार बिबाह गरेका हुन् । 

 उनले सोमबार सामाजिक सञ्जालमार्फत् आफूले विवाह गरेको जानकारी दिएका हुन्। 'मेरा बाबु-नानीको शिक्षा, स्वास्थ्य र भविष्यको बारेमा संवेदनशिल हुनु जरुरी थियो। यी दुबै अवस्थामा साथदिने सहयात्रीको अभाव समयक्रममा खड्किँदै आयो। बाबुनानीको आग्रह पनि यस्तै आउन थाल्यो,' उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'यसैक्रममा नेपाल सरकारको न्याय सेवाकी अधिकृत मन्जु पोखरेलजीसँग मेरो चिनजान हुनपुग्यो।

बिस्तारै हाम्रो घनिष्टता बढ्न थाल्यो। एकैखालको परिवेश र उस्तै खालको भोगाईबाट गुज्रिएका हामी अन्ततः सहयात्रा गर्ने निर्णयमा पुग्यौं।' मनोज र मन्जुले सोमबार बिहान डोलेश्वर महादेवको दर्शन गरेको र त्यसपछि परिवारको उपस्थितिमा त्यहीँ विवाह गरेका हुन्।

उनीहरूले विवाहपछि कौशलटारस्थित सपरिवार मानवसेवा आश्रममा गएर बुवाआमालाई खाना खुवाएर विवाह सम्पन्न गरेको बताए। 'सपरिवार मानवसेवा आश्रम (कौशलटार)मा रहेका बुवाआमालाई खाना खुवाएररखाएर विवाह सम्पन्न गरेका छौँ,' उनले लेखे,'परिस्थिति सिर्जित हाम्रो यो नयाँ अध्यायलाई शुभकामना र आशिर्वाद प्रदान गर्ने सबैलाई धन्यवाद।'

ताजा अपडेट
सम्बन्धित समाचार