काठमाडौ: जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव मद्येशबाट लखेटिएका छन्। आफ्नै किल्लामा उनलाई ज्यान जोगाउन मुस्किल भएको छ। मधेस आन्दोलनमा मधेसीको अधिकारका लागि सोझा–साझा मधेसी जनतालाई शहिद बनाएको भन्दै उनी मद्येशबाट लखेटिएका हुन्। अधिकारका लागि ज्यान गुमाएका परिवार र सम्पूर्ण मद्येशी जनताले भनेजस्तो अधिकार नपाएपछि उनीमाथि शहिद परिवार खनिएको हो।
त्यो मधेसीको आन्दोलन, मधेसी नागरिकको शहादत उपेन्द्रका लागि खाली सत्ताको सिँढी चढ्ने माध्यम बन्यो भन्दै जनताहरु आक्रोशित भएका हुन्। कतिसम्म भने शहिदका परिवारले वर्षौ वित्दा पनि राहत र क्षतिपूर्ति पाएका छैनन्। पटक पटक सत्तामा पुगेका उपेन्द्रले ठोस प्याकेज ल्याउन कुनै चासो दिएनन् शहिद परिवारका लागि।
पटक पटक आश्वासनमात्रै बाँडिरहे। मधेसी जनतालाई ठगिरहे। पटकपटक ठगेपछि शहिद परिवारको धैर्यताको बाँध टुटेको छ। हालै जनकपुर पुगेका उपेन्द्रलाई शहिद परिवारका सदस्यले नाराबाजी गरेर लखेटेका छन्। भित्र कार्यक्रम हुँदा बाहिर शहिद परिवारका सदस्यले आफूहरुलाई पटक पटक ठगेको भन्दै नाराबाजी गरेका थिए।
उनीहरुको नाराबाजीका बिच केही शहिद परिवारका सदस्यलाई एउटा गम्छा दिएर सम्मानका नाममा भुल्याउन खोजे पनि सफल भएनन्। अन्तत मधेसी शहिद परिवारको नाराबाजीबिच उपेन्द्र त्यहाँबाट बाहिरिए। विभिन्न आश र भरोसा बोकेर उपेन्द्र कहाँ गएका शहिद परिवारलाई उनले एक गम्छा दिएर ठगे।
शहिदको परिवारले पाउने क्षतिपूर्ति पहिला संघीय सरकारले दिन्थ्यो। अहिले संघबाट तानेर प्रदेशमा ल्याइएको छ। तर ३ वर्ष वित्दा पनि उपेन्द्रका कार्यकर्ता लालबाबु राउत मुख्यमन्त्री बनेर आफ्नै पार्टीको सरकार हुँदा बाँडिएको छैन।
उपेन्द्रले शहिद परिवार भुल्याउन यसपालि पनि आफ्नै पार्टी नेतृत्वको प्रदेश सरकारलाई शहीद परिवारको भरण पोषण तथा घाइतेहरुको उपचारको प्रबन्ध मिलाउन निर्देशन पनि दिए। यो निर्देशन यादवले विगत ३ वर्षदेखि दिँदै आएका छन्। तर शहिद परिवार रोडमा छन्। शहिद परिवारको भावनासँग खेलवाड गरी विभिन्न कार्यक्रममा सहयोगको नाममा बोलाएर गम्छा दोसल्ला दिएर नै ठग्दै आएका छन्।
शहिद परिवारहरुलाई रोजगारी, घाईतेको उपचार सहितको वाचाहरु यादवले विगतदेखि नै गर्दै आएका छन्। शहिद परिवारको नाममा विनियोजन गरिएको रकमलाई विभिन्न योजना र जनप्रतिनिधिहरुको तलब भत्तामा राखेको भन्दै केही दिनअघि शहिद परिवारहरुले मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन समेत गरेका थिए।
प्रदेश सरकार बनेको ४ बर्ष भएपनि शहिद परिवारहरुले रोजगारी पाउन सकेको छैनन्। कार्यक्रममा सहभागी शहिद परिवारका सदस्यले पटक पटक आश्वासन दिएर आफूहरुलाई ठगेको गुनासो गरेका थिए।