नेपाली यू-२३ फुटबल टोली ताजिकिस्तान प्रस्थान

13.6k Shares

काठमाडौँ: एएफसी यू-२३ एसियन कप छनोटका खेल्न नेपाली यू-२३ टोली ताजिकिस्तान प्रस्थान गरेको छ ।  नेपाली टोली मंगलबार बिहान त्यसतर्फ प्रस्थान गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

ताजिकिस्तान जाने ३५ सदस्यीय टोलीमा २३ खेलाडी र १२ अफिसियल छन् । छनोटमा नेपाल कठिन समूहमा छ । नेपालसँगै ताजिकिस्तान, लेबनान र इरान समूह बीमा छन् ।

नेपाली टोलीमा साफ च्याम्पियनसिपको उपविजेता टिममा रहेका ६ खेलाडी पनि छन् । जसमा डिफेन्डरद्वय सुमन अर्याल र गौतम श्रेष्ठसँगै मिडफिल्डरहरु नितिन थापा, सुरज जिउ ठकुरी , आयुष घलान र फरवार्ड मनिष डाँगी टोलीमा समेटिएका छन् ।

झन्डै एक महिनाको प्रशिक्षणपछि प्रशिक्षक बालगोपाल महर्जनले २३ सदस्यीय टोलीको घोषणा गरेका थिए । उनले कमजोर तयारी भएपनि टोलीले राम्रो प्रदर्शन गर्ने विश्वास लिएका छन् ।

छनोट खेल्नुअघि नेपालले अक्टोबर २२ शुक्रबार इन्डोनेसियाको यु-२३ टोलीसँग ताजिकिस्तानमै मैत्रीपूर्ण खेल खेल्नेछ ।

छनोटमा नेपालले पहिलो खेल इरानसँग अक्टोबर २५ मा खेल्नेछ । यस्तै दोस्रो खेल ताजिकिस्तानसँग अक्टोबर २८ र अन्तिम खेल लेबनानसँग अक्टोबर ३१ मा खेल्नेछ ।

नेपालले हालसम्म एएफसीको यू–२३ एसियन कप प्रतियोगिताको छनोट चरण पार गर्न सकेको छैन । पछिल्लो दुई संस्करणमा नेपाली टोली जितविहिन हुँदै छनोटबाट घर फर्केको थियो । दुवै संस्करणमा नेपालले गोल गर्न सकेको थिएन । प्रतियोगिताको पाँचौ संस्करणमा आइपुग्दा इराक, जापान, उज्बेकिस्तान र दक्षिण कोरियाले १–१ पटक उपाधि जितेका छन् ।

ताजा अपडेट
सम्बन्धित समाचार