काठमाडौं: उपराष्ट्रपति नन्दबहादुर पुनले आफ्नो राजनीतिक गुरु एवम् क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य (किरण)लाई अस्पतालमै पुगेर भेटेका छन् ।
दमको समस्या बढेर आइतबारदेखि नर्भिक अस्पतालमा भर्ना भई उपचाररत वैद्यलाई भेट्न उपराष्ट्रपति पुन बिहान साढे आठ बजे नर्भिक अस्पताल पुगेका थिए ।
उनले अस्पतालमा रहेका नेता वैद्यसँग स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिएका थिए । अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले नेता वैद्यको स्वास्थ्य अवस्थाको विषयमा उपराष्ट्रपतिलाई जानकारी गराएका थिए । सो क्रममा उपराष्ट्रपति पुनले नेता वैद्यको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका थिए ।
उनी नर्भिक अस्पतालमा करिब १० मिनेट बसेका थिए ।
उपराष्ट्रपति निस्किएपछि संघीय सरकारका गृहमन्त्री बालकृष्ण खाँण वैद्यलाई भेट्न नर्भिक अस्पतालमा पुगेस्
गृहमन्त्री बालकृष्ण खाँणले नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
स्वास्थ्यमा समस्या देखिएपछि आइतबार भर्ना भएका वैद्यको स्वास्थ्य अवस्था बुझ्न गृहमन्त्री खाँण आज बिहान थापाथलीस्थित नर्भिक अस्पताल पुगेका थिए । उनले अस्पतालमा वैद्यलाई भेटेर नेपाल सरकारका तर्फबाट शीघ्र स्वास्थ्य लाभको कामना गरेको उनको सचिवालयले जनाएको छ ।
खाणले उपचारमा संलग्न चिकित्सक र अस्पताल प्रशासनसँग पनि वैद्यको स्वास्थ्यबारे जानकारी लिएका थिए । वैद्यको स्वास्थ्यमा सुधार भइरहेको जानकारी आफूलाई उपचारमा संलग्न चिकित्सक र अस्पताल प्रशासनले दिएको मन्त्री खाँणले बताए ।
आइतबार बिहान नर्भिक भर्ना भएका वैद्यको स्वास्थ्य अवस्थामा सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।