कुखुरा पालन गरेर बस्दै आएका ५ जना महाकाली नदीको टापुमा फसे

10k Shares

धनगढी: महाकाली नदीको बिच टापुमा पाँच जना फसेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका-९ खल्ला मसेट्टीमा ५ जना महाकाली नदीको टापुमा फसेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी सिद्धराज न्यौपानेले  कुखुरा पालन गरेर टापुमा बस्दै आएका उनीहरू नदीमा पानीको बहाव बढेपछि उतै थुनिएको बताए । उनीहरू पूर्णागिरि मन्दिरको फेदमा रहेको टापुमा थुनिएको उनले बताए ।

स्थानीयका अनुसार उनीहरूलाई सहजै उद्धार गर्न सकिने अवस्था पनि छैन । उद्धारका लागि नेपाली सेनासँग समन्वय भइरहेको डिएसपी न्यौपानेले बताए । ब्रह्मदेवदेखि झन्डै ५ किलोमिटर पर चुरे फेदमा रहेको मसेट्टी पुग्न आधा दर्जन खहरेहरू पार गर्नुपर्छ ।

महाकाली नदीमा पानीको बहाव निरन्तर बढ्ने क्रममा रहेको छ । सोमबार बिहान महाकालीमा पानीको बहाव ४ लाख ६१ हजार क्युसेक मापन गरिएको छ जुन यो वर्षकै सबैभन्दा बढी हो ।

२०७० को बाढीमा महाकालीमा पानीको बहाव ५ लाख ३५ हजार क्युसेक मापन गरिएको थियो । त्यति बेला बाढीले ठूलो क्षति पुर्‍याएको थियो । नदीमा बहाव बढेपछि सोमबार साँझदेखि नै ठूला सवारीसाधन आवागमनमा रोक लगाइएको छ ।

ताजा अपडेट
सम्बन्धित समाचार