काठमाडौँ: नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनको कार्यतालिका संशोधन गरेको छ । आज बसेको स्थायी कमिटीको बैठकले पार्टी सदस्यता नवीकरण, पालिका सम्मेलन, प्रदेश सम्मेलन लगायतको मिति हेरफेर गरिएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
प्रवक्ता महराका अनुसार टोल सम्मेलन कात्तिक २७ गतेसम्म, वडा सम्मेलन मंसिर ४ गतेसम्म, पालिका सम्मेलन मंसिर ११ गतेसम्म र प्रदेश सम्मेलन मंसिर २५ गतेसम्म म्याद थपिएको छ ।
त्यस्तै मंगलबारको बैठकले संगठनसम्बन्धी महत्वपूर्ण निर्णय गरेको छ । जसमा १४९ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ भने जेष्ठ कम्युनिस्ट मञ्च ९९ जनाको बनाएको छ ।
निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोग २५–२५ सदस्यीय गठन गरेको छ । निर्वाचन आयोग विष्णु पुकार श्रेष्ठको अध्यक्षतामा, लेखा आयोग पेशल कुमार पोखरेलको अध्यक्षतामा र अनुशासन आयोग टंक राईको अध्यक्षतामा बनाइएको प्रवक्ता महराले जानकारी दिए ।
भूगोलभन्दा बाहिर काम गर्नेहरुको विशेष समिति १७५ सदस्यीय गठन गरिएको छ । माओवादीको अर्को बैठक कार्तिक ४ गते पुन बस्नेछ ।