काठमाडौंः सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेपछि राजनीतिक रुपमा विभाजित भएको नेकपाका नेताहरुले पार्टी एकताको विषयमा विभिन्न धारणाहरु सार्वजनिक गरेका छन् ।
प्रचण्ड-नेपाल र ओली पक्षका नेताहरुले अनुकुलतमा आफ्ना धारणा सार्वजनिक गरिरहँदा दुवै समूहबीच एकताको संभावना छ त भन्ने प्रश्न र कौतुहलता सिर्जना भएको छ । बुधबार विहानै माधव नेपाल समूहका भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सच्याउन चाहे सबैभन्दा उत्तम समय आएको बताएका थिए ।
उनले सार्वजनिक रुपमै प्रधानमन्त्री ओलीले आत्मालोचना गरे माफी दिन सकिने धारणा समेत व्यक्त गरेका थिए । त्यसअघि प्रचण्ड नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले पार्टीका सबै सदस्यहरुलाई मूलधारमा फर्केर पार्टीको जिम्मेवारी लिन आग्रह गरिसकेका थिए । दुवै नेताहरुको भनाई सार्वजनिक भैसकेपछि बुधबार दिउसो बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री ओलीले आत्मालोचना गरे माफी दिन सकिने भन्दै पार्टी एकताको संभावना नसकिएको जनाएको थियो ।
उक्त समूहको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतको निर्णय ऐतिहासिक भएको जनाउँदै ओलीलाई अदालतले नै सजाय दिएकाले माफी मागेर प्रधानमन्त्री पदबाट राजिनामा दिई पार्टीको जिम्मेवारीमा फर्कन चाहे क्षमा दिने जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले गरेको गल्ती स्वीकार गरेर क्षमा माग्ने स्थितिमा पार्टी एकताको सम्भावना अझै रहेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि बताएका थिए । आफूहरु हिजो पनि पार्टी एकताको पक्षमा रहेको र आज पनि पार्टी एकताकै पक्षमा रहेको बताउँदै प्रवक्ता श्रेष्ठले पार्टी र देशलाई दुर्घटनाको स्थितिमा पुर्याउने काम ओलीले नै गरेको दाबी गरेका छन् ।
भ्रमपूर्ण ढंगबाट प्रतिगामी गुटमा लागेकाहरुलाई आ-आफ्नो जिम्मेवारीमा फर्कन आग्रह गर्दै उनले सर्वोच्चको फैसला कार्यान्वयनका लागि सबैले सहयोग गर्न आग्रह गरे । त्यस्तै सर्वोच्चका फैसला आउनासाथ प्रधानमन्त्रीको राजीनामा माग गरिएपनि अहिलेसम्म नदिएको भन्दै राजिनामाको माग गरे । ‘फैसला आउनेबित्तिकै हामीले प्रधानमन्त्रीले राजीनामा दिन भनेका छौं । प्रतिनिधि सभाको बैठकबाट संविधान अनुसार प्रक्रियाको बारेमा छलफल हुनेछ,’ उनले भने