राज्यमन्त्री विमला वलीमाथि छानबिन गर्न गठित कार्यदलका पदाधिकारी तुलसीपुरमा

12.9k Shares
सम्बन्धित पार्टी
यो पनि

लुम्बिनी प्रदेशकी स्वास्थ्य तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीमाथि छानबिन गर्न गठित कार्यदलका पदाधिकारी तुलसीपुर पुगेका छन् । एक महिला र उनकी नाबालक छोरीलाई घरभित्र प्रवेश गरी कुटपिट गरेपछि वली विवादमा तानिएकी हुन् ।

राज्यमन्त्री वलीले गएको जेठ ३१ गते बिहान दाङको तुलसीपुर उपमहानगरपालिका–५, आलुमण्डीकी मीना भण्डारी बस्नेत र उनकी नाबालक छोरीमाथि घरभित्र पसेर कुटपिट गरेको आरोप लागेको छ । उक्त घटना अध्ययनका लागि आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्मासहितको टोली मंगलबार (हिजो) बेलुका तुलसीपुर पुगेको हो ।


लुम्बिनी मन्त्रिपरिषद्को असार १ गतेको बैठकबाट राज्यमन्त्री वलीमाथि लागेको आरोपबारे सत्यतथ्य छानबिन गर्न कार्यदल गठन गरिएको थियो । कार्यदलमा महिला, बालबालिका तथा कानुनमन्त्री रमा घर्तीमगर र मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी सदस्य छन् ।

घटनालगत्तै प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । सोही दिन राति मुख्यमन्त्री कुलप्रसाद केसीको निर्देशनमा वलीलाई बुटवल ल्याइएको थियो । स्वास्थ्यमा समस्या आएको भन्दै सोही दिन मध्यराति उनी लुम्बिनी प्रदेश अस्पतालमा उपचारका लागि भर्ना भएकी थिइन् ।
>आफू र छोरीमाथि कुटपिट गरिएको भन्दै मीनाले इलाका प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । घरभित्र पसेर कुटपिट गरिएको तथा दराज फोडेर लत्ताकपडा फालेको र च्यातेको भन्दै मीनाले राज्यमन्त्री वलीमाथि कारबाहीको माग गरेकी छन् ।

गएको भदौमा मीनाका श्रीमान् एवं वाईसीएलका नेता एकराज बस्नेत र वलीबीच प्रेमसम्बन्ध रहेको चर्चा चलेको थियो । यद्यपि, पछिल्लो समय उनले एकराजलाई सापटीबापत दिएको रकम लिन उनको घरमा जाँदा आफूलाई षड्यन्त्रपूर्वक फसाउन खोजेको भन्दै बचाउ गर्दै आएकी छन् ।

मन्त्रीको झन्डावाल गाडी र आफ्नो बडिगार्डसहित पुगेकी राज्यमन्त्री वलीले त्यहाँ एकराजलाई फेला नपारेपछि उनकी श्रीमती र छोरीमाथि दुर्व्यवहार गरेको आरोप छ ।

ताजा अपडेट
सम्बन्धित समाचार