काठमाडौं: विगत लामो समयदेखि सरकारमा सहभागी हुने हल्ला चलेको लोकतान्त्रिक समाजवादी पार्टीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा सहभागी गराउने भएका छन् । विभिन्न माग राखेको लोसपा अध्यक्ष ठाकुरले पनि सरकारमा सहभागीता जनाउने लचकता देखाएको पार्टी निकट श्रोतले पोलिटिक्स नेपाललाई बताए ।
यता प्रधानमन्त्री देउवाले आगामी संघीय संसदको निर्वाचनको मिति घोषणा हुनुपुर्व नै लोसपालाई सरकारमा सहभागी गराउने गरी तयारी थालेका छन् ।
देउवा निकट श्रोतले पोलिटिक्स नेपाललाई दिएका जानकारी अनुसार उनले लोसपाका अध्यक्ष महन्थ ठाकुरसँग छलफल पनि गरिसका छन् । अबको केहि दिनमा चुनावको मिति घोषणा हुने पक्कापक्की जस्तै छ । त्योभन्दा अघि नै लोसपाबाट दुई जनालाई सरकारमा सहभागी गराउने देउवाको तयारी छ ।
चुनावमा कांग्रेसलाई बलियो देखाउने उद्देश्य बोकेका देउवाले लोसपालाई आफनाे स्वार्थ अनुकुुल प्रयोग गर्न लागेका लोसपाका केहि नेताले जानकारी दिए । नाम नखोल्ने शर्तमा लोसपाका एक नेताले भने यो समय सरकारमा सहभागी हुने कुनै आवश्यक्ता देखिएको छैन तरपनि केहि थान मन्त्री खान केहि नेताहरु मरिहत्ते गरिरहेका छन् । उनले मन्त्री खाने भनेका केहि नेता शरदसिंह भण्डारी र अनिल झा भएको अर्का एक् नेताले बताए । भण्डारी र झा मन्त्री खानका लागि लबिङ्ग समेत सुरु गरिसकेको उनले बताए ।
निर्वाचनको मिति घोषणा भएपछि आचारसंहिता लाग्ने भएकोले देउवाले त्यो भन्दा अघि नै मन्त्रिपरिषद्मा लोसपालाई सहभागी गराउन चाहेका नेताहरुको भनाइ छ । लोसपालाई सरकारमा सहभागी गराउनेबारे उनले सत्ता गठबन्धनका शीर्ष नेताहरुसँग पनि सहमति लिईसकेका छन् ।