काठमाडौं: सत्ता गठबन्धनमा आबद्ध दलद्वारा गठित आगामी निर्वाचनको सिट बाँडफाँडसम्बन्धी कार्यदलको बैठक आज बस्दै छ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो २ बजे बस्नेछ।
गत बिहीबार आज बस्ने गरी कार्यदलको बैठक टुंगिएको थियो। आजको बैठकमा आसन्न प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि सिट बाँडफाँडलाई अन्तिम टुंगो लगाइने भएको छ।
हिजो बसेको सत्ता गठबन्धनका शीर्ष नेताको बैठकले सिट बाँडफाँट गर्न गठित कार्यदललाई यथाशीघ्र काम पूरा गर्न निर्देशन दिएको छ। गत बिहीबारको बैठकमा कार्यदल सदस्यहरूबीच ०७४ सालको निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ प्राप्त मत, ०७९ को स्थानीय तह निर्वाचनमा प्राप्त मत र दलहरूको राजनीतिक संवेदनशीलताका आधारमा सिट बाँडफाँडको सैद्धान्तिक समझदारी बनेको थियो।
यस्तो सहमतीमा सत्ता गठबन्धनको एक घटक दलमै असन्तुष्टि चुलिएको छ। सत्ताको प्रमुख दल कांग्रेसले कम्तिमा १ सय सिट पाउनु पर्ने दाबी गर्दै आएको छ। माओवादीले पनि आफू जसरी पनि दोस्रो हुनुपर्ने नत्र गठबन्धन टुट्ने चेतावनी दिँदै आएको छ। यस्तै नेकपा एकीकृत समाजवादीमा असन्तुष्टि रहेको छ। एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सिट बाँडफाँडमा स्थानीय चुनावको मतको आधारलाई मान्न नसकिने बताएका छन्।
अघिल्लो बैठकमा गठबन्धन दलहरूका आ–आफ्ना अडानसहित आजको बैठकमा प्रस्तुत हुने गरी उक्त बैठक सकिएको थियो।
कार्यदलमा नेपाली कांग्रेसबाट नेता कृष्णप्रसाद सिटौला संयोजकसहित महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की सदस्य छन्।
माओवादी केन्द्रबाट देवप्रसाद गुरुङ र वर्षमान पुन छन्। एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल रहेका छन्। जसपाबाट रामसहाय यादव, रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन्।