काठमाडौंः आगामी निर्वाचनमा पनि स्थानीय तहको निर्वाचनमा झै नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन एक ढिक्का भएर अघि बढ्ने भने पनि कसले कति सिट पाउने भन्ने अझै टुंगो लागाउन कार्यदलले सकेको छैन। सिट बाँडफाँटका लागि बनेको कार्यदलको बैठक एक महिनादेखि नै बस्दै आएको छ।
१ सय ६५ निर्वाचन क्षेत्रमा सबै दलको दावी जोड्दा २ सय ३५ पुग्छ। यही विषय मिलाउन एक शिर्ष नेतृत्वले एक कार्यदल नै तय गरेको थियो। उक्त कार्यदलको बैठक लगातार बसे पनि टुंगोमा पुग्न सकस भएको छ। उक्त कार्यदलको बैठक आज पनि दिउँसो बालुवाटारमा बस्नेछ।
पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुले दिएको निर्देशन अनुसार उनीहरू प्रधानमन्त्री निवास वालुवाटारमा बैठक बस्नेछन् । बैठकले प्रतिनिधिसभाका १ सय ६५ निर्वाचन क्षेत्रको अवस्थाका बारेमा विस्तृत अध्ययन नै प्रस्तुत गर्नुपर्नेछ। उक्त अध्ययन अन्तिम नभए पनि त्यसलाई अन्तिम रुप दिन कार्यदल पुनस् लगातार छलफलमा बस्न पर्नेछ।
बिहीबार बसेको कार्यदलको बैठकमा नेपाली कांग्रेसले १ सय, नेकपा माओवादी केन्द्रले ६०, नेकपा एसले ४०, जनता समाजवादी पार्टीले ३२, राष्ट्रिय जनमोर्चा पार्टीले ३ सिटको दावी पेश गरेका छन्। यो दावीसँगै कुन तवरले अघि बढ्ने भन्नेमा कार्यदल नै अलमलमा छ।
सिट बाँडफाँट टुंगोमा पुग्नका लागि कार्यदलको बैठक झन्डै एक महिनादेखि चलिरहेको भए पनि निष्कर्षमा भने पुग्न सकेको छैन। कार्यदलको बैठकले विस्तुत अध्ययन प्रतिवेदन बुझाएपछि गठबन्धनका शिर्ष नेताले अन्तिम निर्णय लिने भनिएको छ। कार्यदलमा सिटको तय भएपछि आफ्नो दल भित्रको सिट बाँडफाँट अर्को फलामको चिउरा झै छ।