काठमाडौंः नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आगामी निर्वाचनमा दलहरूबीचको गठबन्धन अहिलेको आवश्यकता भएको बताएका छन्।
नेपाली कांग्रेस मोरङ क्षेत्र नं ६ ले आइतबार मोरङमा आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले कांग्रेस गठबन्धन गरेर निर्वाचनमा जाने र यो जरुरी पनि रहेको स्पष्ट पारेका हुन्।
नेता डा। कोइरालाले आगामी संघीय निर्वाचनमा नेपाली कांग्रेसले गठबन्धन दलसँग कम्तीमा पनि एक सय सिटमा सहमति गर्नुपर्ने बताए।
उनले कांग्रेसले २०७४ को निर्वाचनमा संघीय संसद् र प्रदेशसभामा विजयी भएका स्थान आफूले राख्नुपर्नेमा जोड दिँदै ७७ जिल्लामा संघीय संसद् वा प्रदेशसभामा प्रतिनिधित्व हुनु आवश्यक रहेको पनि बताए।
पार्टी र सरकारमा सुशासन तथा पारदर्शीता हुनुपर्ने भन्दै जनताप्रति उत्तरदायी भएर जनताको काम छिटो गर्न पनि उनले सुझाव दिएका छन्।