काठमाडौंः प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन घोषणा भएसँगै मुलुकभर चुनावी चर्चा सुरु भएको छ । विभिन्न निर्वाचन क्षेत्रमा कुन दलबाट को उम्मेदवार बन्नेबारे लेखाजोखा हुन थालेको छ । यसै क्रममा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले मधेसका २२ जिल्ला बाहेकका कुनै पनि क्षेत्रबाट निर्वाचनमा भाग लिन आफू तयार रहेको बताएका छन् ।
पछिल्लो समय उनले धनुषा क्षेत्र नम्बर ३ छोड्ने चर्चा चलिरहेको बेला उनको यस्तो भनाई बाहिर आएको हो । क्षेत्रीय र जिल्ला कमिटीले सर्वसम्मत निर्णय गरे आफू पहाड र हिमालको क्षेत्रबाट चुनाव लड्न तयार रहेको उनको स्पष्टोक्ति थियो ।
नेता निधिले नेपाली कांग्रेस गठबन्धन प्रति इमान्दार रहेको दाबी गरे । तर, उनी आफू चुनाव नलड्ने घोषण गर्दै गठबन्धनलाई सहयोग गर्ने बताए । नेता निधिले गत महिना क्षेत्रको सर्वेक्षण गराउँदा आफ्नो अवस्था समृद्ध नरहेको यकिन गरेका थिए । नेता निधिले स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धन विरुद्ध गरेको कृयाकलापले उनीप्रति असन्तुष्टि बढेको सर्वेमा देखाइएको निधि निकट एक नेताले पोलिटिक्स नेपाललाई बताए ।
नेता निधि गठबन्धन विरुद्ध नेपाली कांग्रेसका विद्रोही उम्मेदवार मनोजकुमार साहलाई समर्थन गरेका थिए । त्यसले पनि नेता निधिप्रति असन्तुष्टि देखिएको छ । नेता निधिले जसपाका उम्मेदवार विरुद्ध कम्मर कसेरनै लागेका कारण उनी गठबन्धनमा आवद्ध दल जसपावाट आफूलाई असुरक्षित ठान्दै आएका छन् । एमालेको पकड पनि राम्रो र सम्पन्न स्थानीय तहको निर्वाचनमा मुखियापट्टी मुसहरनियामा जसपा प्रमुख सहित विभिन्न वडाहरुमा विजयी भएपछि निधि त्यसले पनि प्रत्यक्ष चुनाव लड्नवाट व्याक हुन चाहेका छन् । नेता नधि गठबन्धन भन्दा पनि लोसपालाई बढी प्राथमिकता दिने गरेका छन् ।
नेता निधिले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई नेपाली कांग्रेस सित गठबन्धन गराउन प्रयासरत्त छन् । निधिले केही हप्ता पूर्व लोसपाका वरिष्ठ नेता तथा धनुषा निर्वाचन क्षेत्र नम्वर ३ का सांसद राजेन्द्र महतो संग गोप्य भेटवार्ता गरेका थिए । स्रोतहरुका अनुसार नेता निधिले प्रतिनिधिसभामा महतोलाई सहयोग गर्ने सम्भावना बलियो छ । एमालेवाट धनुषा निर्वाचन क्षेत्र नम्वर ३ मा जुली महतो प्रत्यक्ष उम्मेदवारी दिने तयारीमा जुटेकी छन् । उनको सक्रियता दिनप्रतिदिन बढ्दै गएको देखिन्छ ।
नेता निधिले लोसपाका वरिष्ठ नेता महतोलाई समर्थन गरे पनि एमाले नेतृ महतो भारी उम्मेदवार हुने आकलन गरिएको छ । प्रतिनिधिसभाको पछिल्लो निर्वाचनमा एमालेले लोसपाका नेता महतोलाई पूर्ण समर्थन गरेको थियो । एमालेकै समर्थनका कारण महतोले निधिलाई पराजित गर्न सफल भएका थिए । नेता निधि प्रत्यक्ष चुनाववाट भागे संगै धनुषाको कांग्रेस राजनीतिमा उथलपुथल हुने त्रास बढेको छ । निधि प्रत्यक्ष चुनाव नलड्दा धनुषा निर्वाचन क्षेत्र नम्वर ३ को ९क० वाट उम्मेदवारी दिने प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका कांग्रेस नेता राम सरोज यादव र धनुषा निर्वाचन क्षेत्र नम्वर ४ को प्रतिनिधिसभामा उम्मेदवारी दिने पार्टीका सह– महामन्त्री महेन्द्र यादवको अवस्था कमजोर हुन सक्ने चर्चा चल्न थालेको छ ।
प्रदेश मन्त्री यादव र कांग्रेस सह–महामन्त्री महेन्द्र यादव निधिका विरोधी मानिन्छन् । पार्टीको आन्तरिक चुनावमा निधिलाई चुनौती दिएका यादवद्वयलाई चुनावमा सबक सिकाउन निधिले प्रत्यक्ष चुनाव लड्नवाट पछि हटेको बताइन्छ । पाँच दलीय राजनीतिक गठबन्धन बीच धनुषामा सिटको तालमेल हुने सम्भावना विद्यमान छ । तर, गठबन्धन नभए जिल्लाको सवै निर्वाचन क्षेत्रमा एमालेको अवस्था अपेक्षाकृत बलियो हुनेछ । धनुषाको समग्र राजनीतिमा कांग्रेसको निर्वाचन क्षेत्र नम्वर ३ मा हुने निर्णयले अत्यधिक प्रभाव पार्ने सम्भावना छ ।