काठमाडौंः सत्ता गठबन्धन कार्यदलको बैठक बुधबार पनि बस्दै छ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ५ बजेका लागि बोलाइएको छ।
कार्यदलले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीको लागि आफूलाई प्राप्त कार्यादेश बुधबारसम्म टुङ्ग्याउने बताएको छ।
यसअघि मंगलबार साँझ बसेको कार्यदल बैठकले चुनावी तालमेल र सिट बाँडफाँड बुधबार नै टुङ्ग्याउने निर्णय गरेको कार्यदलका सचिव अधिवक्ता केशवराज जोशीले जानकारी दिए।
उनले सिट बाँडफाँड सहमति नजिक पुगेको र कार्यदलका तर्फबाट सकेसम्म छिटै शीर्ष नेतृत्वलाई प्रतिवेदन बुझाउने बताए। दलहरूलाई प्राप्त मतअनुसार र केही राजनीतिक विषयलाई समेत मध्यनजर गरी सबैलाई सम्मानजनक र न्याय हुने गरी सिट बाँडफाँटको खाका बनाएको उनको भनाइ छ।
गठबन्धनमा आबद्ध दलहरूले आगामी आमनिर्वाचनमा चुनावी तालमेलको खाका बनाउन कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला संयोजक रहेको कार्यदल गठन गरेका थिए।