काठमाडौंः विमलेन्द्र निधिको क्षेत्र, धनुषा ३ मा लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिल झा र नेकपा कम्युनिष्ठ पार्टी (एमाले) नेतृ जुली महतोबीच प्रतिस्पर्धा हुने भएको छ।
यो क्षेत्र निवर्तमान सांसद राजेन्द्र महतोको क्षेत्र हो भने विमलेन्द्र निधिका बुवा महेन्द्र नारायण निधिदेखि विमलेन्द्र निधि सम्मले पटक–पटक निर्वाचन जित्दै आएको क्षेत्र हो। सत्तारुढ गठबन्धनको तर्फबाट लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता झाले उम्मेदवारी दर्ता गराएका छन्।
भने प्रदेश सभातर्फ धनुषा ३ (क)मा नेपाली कांग्रेसका बहालवाला मन्त्री रामसरोज यादव र ३ (२) मा लोसपाका प्रमुख सचेतक तथा धनुषा जिल्ला अध्यक्षसमेत रहेका परमेश्वर साहले उम्मेदवारी दर्ता गराएका हुन्।
एमाले–जसपा गठबन्धनबाट जुली महतोले धनुषा ३ मा प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएकी हुन्। उनीसँगै धनुषा ३ (क) मा प्रदेशसभाका लागि मुख्यमन्त्रीका स्वकीय सचिव तथा जसपा नेता जितेन्द्र यादव र धनुषा ३ (ख) मा एमालेबाट दीपेन्द्र ठाकुरले उम्मेदवारी दर्ता गराएका छन्।
२०७० सालको संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका पूर्व उपसभापति निधिबाट पराजित भएकी थिइन् भने २०७४ मा समानुपातिकबाट प्रतिनिधिसभा सदस्य बनेकी थिइन्।
पूर्वमन्त्री महतोले भने, ‘यो मेरो मात्र नभई धनुषा निर्वाचन क्षेत्र ३ का सम्पूर्ण जनताको उम्मेदवारी हो, मलाई यो क्षेत्रको जनताले गरेको अगाध माया स्नेहले नै उम्मेदवारी दर्ता गराउन प्रेरित गरेको छ।
प्रतिनिधिसभा तर्फका झा यसअघिको निर्वाचन रौतहट–१ बाट विजयी भएका थिए। तर, यसपटक गठबन्धनभित्र रौतहट–१ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालललाई दिने सहमति भएपछि नेता अनिल झा धनुषा–३ मा आएका हुन्।
नेता झाले पाँचदलीय गठबन्धनले आफूलाई उम्मेदवार बनाएर पठाएकोले आफू धनुषा–३ मा आएको बताए। उनले धनुषा–३ यसअघि लोसपा नेपालले जितेको क्षेत्र रहेकोले त्यसलाई निरन्तरता दिन आफूहरुको दाबी स्वभाविक रहेको बताए।
प्रदेशको राजधानीबाटै संघीयतावादी, मधेशवादी र लोकतन्त्रवादीका साथै एक दशकभन्दा बढी समयसम्म देशको लोकतन्त्र र मधेशीको अधिकारको निमित्त लडेको व्यक्ति यहाँको प्रतिनिधित्व गर्दा व्यक्तिको पनि र स्थानको पनि इज्जत बढ्ने भएकोले आफूले मधेशको मुटुबाट निर्वाचनमा होमिएको बताए।
झा २०७४ को निर्वाचनमा रौतहट १ बाट प्रत्यक्ष निर्वाचित भएका थिए। मुख्यतः झा र महतो प्रतिस्पर्धी रहेपनि गठबन्धनका नेता निधिको क्षेत्रमा उनकै बोलबाला हुन्छ। उनले निर्वाचनमा कस्तो भूमिका निर्वाह गर्छन्, त्यो हेर्न लायक हुन्छ र यसैको आधारमा निर्वाचनमा हार जित हुन्छ।
२०७४ को निर्वाचन जस्तो अहिले यो क्षेत्र मधेशवादी दलका लागि बलियो जनाधार देखिँदैन। मधेश केन्द्रित दलहरु जसपा र लोसपा दुई अलग गठबन्धनमा छन्। मधेश आन्दोलनको प्रभाव पनि कम हुँदै गएको छ। स्थानीय सरकारमा लोसपाको बलियो पकड पनि छैन।