सत्तारुढ गठबन्धनलाई दुईतिहाइ बहुमत दिन गृहमन्त्रीको आग्रह

8.5k Shares
सम्बन्धित राजनीतिज्ञ
यो पनि

काठमाडौंः गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धनलाई दुईतिहाइ बहुमत दिन आममतदातालाई आग्रह गरेका छन् । नागरिकताविहीन नेपाली नागरिकहरुलाई नागरिकता दिन संविधान संशोधन गर्नुपर्ने भएकाले पनि सत्तारुढ गठबन्धनलाई दुईतिहाइ बहुमत आवश्यक रहेको गृहमन्त्री खाँणले जिकिर गरे । 

मंगलबार काठमाडौंमा आयोजित गैरआवासीय नेपाली संघको वार्षिक साधारणसभामा बोल्दै उनले राष्ट्रपति विद्या भण्डारीले संविधानविपरीत गएर नागरिकता विधेयक प्रमाणीकरण नगरेका कारण गैरआवासीय नेपालीहरुलाई पनि नागरिकता दिने संवैधानिक व्यवस्था कार्यान्वयन गर्न नसकिएको उल्लेख गरे । राष्ट्रपतिको सो गैरसंवैधानिक कामको विरोध गरेर सो नागरिकता विधेयक प्रमाणीकरणका लागि दबाब दिन पनि गैरआवासीय नेपालीहरुलाई उनले अनुरोध गरे । 

नेपालमा लगानी भित्र्याउन गैरआवासीय नेपालीहरुलाई आह्वान गर्दै गृहमन्त्री खाँणले गैरआवासीय नेपालीहरुको लगानीको सुरक्षा गर्ने जिम्मेवारी सरकारले लिने बताए । गृहमन्त्री खाँणले विदेशमा रहेका हरेक नेपालीहरुको लगानीको स्वागत गर्ने, प्रोत्साहन गर्ने र त्यसको सुरक्षाको सुनिश्चितता गर्ने काम सरकारको रहेको पनि पटकपटक दोहोर्‍याए । 

गृहमन्त्री खाँणले सरकारले गैर आवासीय नेपालीहरुको लगानीको सुरक्षाका लागि सुरक्षाकर्मीहरुको आवश्यक परिचालनको व्यवस्था मिलाउने आश्वासन समेत दिए । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धनलाई दुईतिहाइ बहुमत दिन उनले आममतदातालाई आग्रह गरे । 

ताजा अपडेट
सम्बन्धित समाचार