काठमाडौं: महोत्तरी जिल्ला सदरमुकाम जलेश्वर समेटिएको निर्वाचन क्षेत्र नम्बर ३ मा मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा कडा प्रतिस्पर्धा हुने भएको छ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर पुनः महोत्तरी–३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिनुभएपछि सो क्षेत्रमा निर्वाचनको माहोल ह्वात्तै बढेको छ ।
उनले यसअघि विसं २०७४ को निर्वाचनमा पनि सोही क्षेत्रबाट चुनाव जितेका थिए । नेपाली कांग्रेस पार्टीमा लामो समय आवद्ध हुँदा पछिल्लो समय विशेष गरी मधेस केन्द्रित राजनीतिमा लागेका थिए ।
तत्कालीन समयमा उनले कांग्रेस परित्याग गर्दै आफ्नै नेतृत्वमा तराई–मधेस लोकतान्त्रिक पार्टी गठन गरेका थिए भने साविकको मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँगै दोस्रो मधेस आन्दोलनको नेतृत्व गरेका थिए । आठ बुँदे सम्झौतापछि विसं २०६४ को पहिलो संविधानसभा चुनावमा भने उनी सर्लाहीबाट पराजित भएका थिए ।
त्यस्तै २०७० को दोस्रो संविधानसभा चुनावमा पनि सर्लाही–४ बाट उनी पराजित एका थिए । विसं २०७४ को निर्वाचनमा ठाकुर महोत्तरी–३ बाट निर्वाचनमा होमिएका थिए भने २०७४ को प्रतिनिधिसभा निर्वाचनमा उनले १८ हजार एक सय ६९ मतको फराकिलो अन्तरले निर्वाचित भएका थिए ।

२६ हजार आठ सय ४५ मत ल्याएर उनी निर्वाचित हुँदा निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका विजयकुमार चौधरीले आठ हजार छ सय ७६ मत तथा स्वतन्त्र उम्मेदवार चन्देश्वर झाले चार हजार २० मत मात्र ल्याएका थिए ।
