२८ मंसिरभित्र राष्ट्रपतिलाई प्रतिवेदन बुझाउने आयोगको तयारी

13k Shares
यो पनि

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन नतिजा आउने क्रम अन्तिम चरणमा पुगेसँगै निर्वाचन आयोगले नतिजासहितको प्रतिवेदन प्रमाणीकरणका लागि राष्ट्रपतिलाई बुझाउने तयारी थालेको छ । मंसिर ४ मा भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको प्रत्यक्षतर्फको नतिजा आइसकेपनि समानुपातिकतर्फको तीन जिल्लाको मत गणना जारी रहेकाले सोमबार राति १२ बजेसम्म गणना सक्न सम्बन्धित निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएको छ ।

आयोगले दलहरुलाई समानुपातिकतर्फ निर्वाचित हुने नाम तीन दिनभित्र पठाउन म्याद दिने भएको छ ।  ‘कानुन त सात दिनसम्मको समय दिन मिल्छ तर छिटो गर्न तीन दिनको समय दिन लागिएको हो’, थपलियाले भने ‘भनेको समयमा नाम पठाए भने आयोगले २८ गतेभित्र निर्वाचन प्रतिवेदन राष्ट्रपतिलाई प्रमाणीकरणका लागि पठाउँछ ।’

प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्र र प्रदेशका ३३० क्षेत्रका नतिजा सार्वजनिक भैसकेको छ । प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये ५७ क्षेत्रमा जित हासिल गरेर नेपाली कांग्रेस प्रत्यक्षतर्फ पहिलो पार्टी बनेको छ । नेकपा (एमाले) ले ४४ निर्वाचन क्षेत्रमा जितेर दोस्रो बनेको छ । 

त्यसैगरी नेकपा (माओवादी केन्द्र) ले १८ सिट जितेर तेस्रो पार्टी बन्दा नेकपा (एकीकृत समाजवादी) ले भने १० सिट जितेर चौथो दल बनेको छ ।  उता जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले बराबर सात सात क्षेत्र जितेका छन् । लोकतान्त्रिक समाजवादी पार्टीले ४ क्षेत्रमा जित हासिल गर्दा नागरिक उन्मुक्ति पार्टीले ३ क्षेत्रमा जित हासिल गरेको छ । राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टीले एक एक सिट जितेका छन् । देशभर ५ जना स्वतन्त्र सांसद निर्वाचित भएका छन् । 

प्रदेशसभाको प्रत्यक्षतर्फ ३३० वटा प्रदेश सभाका क्षेत्रमध्ये १११ निर्वाचन क्षेत्रमा नेपाली काँग्रेस, ९१ सिट जितेर एमाले दोस्रो, ५३ स्थानमा जितेर माओवादी केन्द्र तेस्रो दल बनेको छ । त्यसैगरी नेकपा एकीकृत समाजवादीले १५ सिट जितेको छ भने जनता समाजवादी पार्टीले ११ राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि ११, लोकतान्त्रिक समाजवादी पार्टीले ९, नागरिक उन्मुक्ति पार्टीले ७, जनमत पार्टीले पनि ७, हाम्रो नेपाली पार्टीले १ र स्वतन्त्रले १२ वटा निर्वाचन क्षेत्रमा जितेका छन् ।

ताजा अपडेट
सम्बन्धित समाचार