काठमाडौंः बञ्चरेडाँडा ल्यान्डफिल क्षेत्रमा फोहर बोकेर गएका गाडीमा तोडफोड भएको छ ।
धादिङ र नुवाकोटको सीमाना नजिकै रोकेर राखेकोे १८ वटा गाडीमा तोडफोड भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
प्रहरीका अनुसार फोहर भरेर गएका १५ वटा टिपर, २ वटा लोडर र एउटा स्काभेटरमा तोडफोड भएको छ । गाडीको सिसा फुटाइएको छ । नुवाकोट र धादिङको सीमाना नजिकै पार्किङमा राखिएका ती गाडीमा गएराति तोडफोड भएको हो ।
गाडी कसले तोडफोड गर्यो भन्ने बारे खुलेको छैन । प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ । काठमाण्डौ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले भने आफूलाई घटना बारे पूर्ण जानकारी आइनसकेको बताउनुभयो ।
काठमाण्डौका धेरै ठाउँमा लामो समयदेखि नियमित फोहोर उठ्न सकेको छैन । कहीँ कतै फोहोर संकलन भइरहेकोमा फेरि असर पर्ने भएको छ । फोहरका कारण काठमाण्डौ दुर्गन्धित बनेको छ ।